व्यावसायिक किबीखेतीबाट आम्दानी गर्दै मेलम्चीका कृषक
काठमाडाैं | असोज ९, २०७९
मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका कृषक व्यावसायिक किबी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । वर्षौ देखि परम्परागतरुपमा लगाउँदै आएको मकै खेती छाडेर उनीहरु किबीबाट मनग्य आम्दानी गर्न थालेका हुन् ।
सिन्धुपाल्चोकमा किबी खेतीका लागि उपयुक्त वातावरण भएकाले कृषक यस पेसातर्फ आकर्षित हुन थालेका छन् । मेलम्ची नगरपालिका–१ भोटेचौरमा १४ जना कृषक मिलेर किबी खेती गरिरहेका छन् । उनीहरुले हैबुङ कृषि फार्मबाट मेलम्ची–१ भोटेचौर र मेलम्ची–३ हैबुङमा किबी उत्पादन गर्दै आएका छन् । पचास रोपनी बढी जमिनमा उनीहरुले खेती गर्दै आएका हुन् ।
परम्परागतरुपमा लगाउँदै आएको मकै खेती छाडेर हावापानीअनुसारको खेती गर्न उनीहरु लागिरहेका छन् । मेलम्चीमा किबी खेतीको राम्रो सम्भावना देखेर यो व्यवसायमा लागेको मेलम्ची–१ का कृषक राजेन्द्र दुलालले बताउनुभयो । “करिब १२०० बोट किबी लगाएका छौँ । २०७० साल बाट सुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “बजारमा किबीको मूल्य र माग दुवै रहेको छ । किबी रोपेर आम्दानी राम्रो भएको छ ।”
“बिरुवा हुर्केर आम्दानी दिन पाँच वर्ष लाग्ने रहेछ । युट्युव र किताब हेरेरै खेती गर्ने प्रक्रिया सिकेका हौँ । सुरुमा रु एक करोडभन्दा माथि लगानी लागेको छ”, उहाँले सुनाउनुभयो । किबी खेती सँगसँगै बिरुवा पनि बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।
“जमिन बाँझो भएर बसेको छ । धेरै युवाहरुले वैदेशिक रोजगारी लाई रोज्ने गरेका छन् । हामी गाउँमै आधुनिक खेती गर्नपर्छ भनेर लागीरहेका छौँ । यो खेती गरेपछि पहिलाको जस्तो धेरै बाँदर र बँदेलले पनि दु:ख दिएको छैन । वार्षिक १० लाखभन्दा माथि आम्दानी हुन्छ”, दुलालले थप्नुभयो ।
किबीखेती गरेमा आम्दानी राम्रो हुने भएपछि आफूले किबी लगाएको मेलम्ची नगरपालिका–१ कुलप्रसाद चौँलागाइले बताउनुभयो । “किबी फल गाउँमा बिरलै सुन्न पाइन्थ्यो, एकजना अग्रज बाट यो फल राम्रो हो भन्ने जानकारी पाएँ । नौ/दश वटा फलमा हुने गुण एउटै किबी फलमा हुने रहेछ भन्ने ज्ञान प्राप्त गरेर हामीले यो फल सुरु गरेका हौँ’, उहाँले भन्नुभयो । किबी फलको भविष्य राम्रो रहेको उहाँले बताउनुभयो ।
यो व्यवसाय अन्य बाली भन्दा उपलब्धिमूलक रहेको समेत उहाँले बताउनुभयो । सरकारले यो खेतीलाई प्रोत्साहन गर्नुपर्ने उहाँको माग छ । घरपरिवारको जीविकोपार्जन समेत किबी खेतीबाट राम्रो चलाइरहेको उहाँ बताउनुहुन्छ ।
मेलम्ची नगरपालिकाको वडा नं १, २, ३, ४, ५ र ९ वडाका कृषकले १० हजार किबीको बिरुवा लगाएका छन् । करिब छ सय २५ रोपनी जमिनमा कृषकले किबीखेती गर्दै आएको मेलम्ची नगरपालिकाका कृषि शाखा प्रमुख अमरनाथ आचार्यले जानकारी दिनुभयो । “पचास प्रतिशत लागत साझेदारीमा गतवर्ष १६ वटा फार्मलाई अनुदान दिएको थियो । यस वर्ष पनि प्रदेशको रु १५ लाख अनुदान वडा नं १ र ९ का कृषकलाई दिन लागिएको छ”, आचार्यले भन्नुभयो ।
सुरुमा एक पटक लगानी गरेपछि ४०/५० वर्षसम्म उत्पादन दिइरहने भएपछि किसान यो खेतीतर्फ आकर्षित भएका हुन् । किबीखेती मौसमका अनुसार पनि मेलम्ची उपयुक्त मानिने हुँदा त्यसतर्फ बढी आकर्षित भएर यो खेतीको सुरुआत गरिएको मेलम्ची नगरपालिकाका कृषि शाखा प्रमुख अमरनाथ आचार्यले जानकारी दिनुभयो ।
किबी खेती समुद्री सतहबाट एक हजार दुई सय मिटरदेखि दुईहजार चार सय मिटर उचाइमा लगाइन्छ । यसलाई सिँचाइको आवश्यक पर्ने भए पनि वर्षामा पानी जम्न भने हुँदैन । किबी फललाई चाउरीपन, उच्च रक्तचाप, पोषण, छाला तथा मुटुका रोगीका लागि महत्वपूर्ण औषधिका रूपमा लिइन्छ ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

